एकीकृत नेपाल राष्ट्रवादी मोर्चाको ज्ञापनपत्र

Printer-friendly versionSend by emailPDF version

नेपाल टुक्र्याउने  सार्वजनिक अभिव्यक्ति दिने माननीय रक्षामन्त्री श्री शरतसिंह भण्डारीलाई
अविलम्ब मन्त्री पदबाट हटाइयोस् भन्नेबारे प्रधानमन्त्री समक्ष
एकीकृत नेपाल राष्ट्रवादी मोर्चाको ज्ञापनपत्र ।

श्री सम्माननीय प्रधानमन्त्री
डा. बाबुराम भट्टराई
नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय
सिंहदरबार, काठमाडौं ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
    तपाईंको मन्त्रिमण्डलमा रक्षामन्त्री रहनुभएका शरतसिंह भण्डारीले यही आश्विन ९ गते सोमबारका दिन एक सार्वजनिक कार्यक्रममा नेपालबाट तराईका २२ (?) जिल्ला टुक्रिन सक्ने र यसो हुनबाट नेपालको कुनै ऐन–कानुनले रोक्न नसक्ने अभिव्यक्ति दिनु पदीय मर्यादाको विपरीत मात्र होइन नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथिको खुला प्रहार पनि हो । देशको अखण्डताको रक्षा गर्ने जिम्मेवारी लिएका रक्षामन्त्रीले करिब १ लाख नेपाली सेनालाई सदा राष्ट्रियताको रक्षाका निम्ति मरिमेट्न उत्प्रेरित गर्ने र नीति–निर्देशन दिनुपर्नेमा नेपाली सेनाको समेत तेजोबोध हुने र नेपाली जनतालाई देशविखण्डनको त्रासमा बाँच्न विवश तुल्याउने अभिव्यक्ति दिएको यति लामो समय बितिसक्दा पनि निज रक्षामन्त्रीमाथि प्रधानमन्त्रीद्वारा लिखित स्पष्टीकरण सोध्ने सामान्य प्रक्रिया पनि सम्पन्न नहुनु प्रधानमन्त्रीको निरीहता हो कि सत्ता लिप्सा, यी दुईमध्ये कुनै एक आरोप सहेर प्रधानमन्त्रीको पदमा रहनु कुनै पनि हालतमा शोभनीय होइन । राष्ट्रविखण्डनको सिरानी हालेर कुनै पनि व्यक्ति आरामको निद्रा सुत्न सक्छ भने ऊ राष्ट्रघाती नै हो भनी सहजै भन्न सकिन्छ । मन्त्री पदमा आसीन एउटा व्यक्ति राष्ट्रलाई टुक्र्याउने कुरा खुला रुपमा गर्छ भने उसलाई तत्काल उपयुक्त कार्बाही गर्ने कि त्यही व्यक्तिको पाउमा राष्ट्रको बलि चढाउने ? राष्ट्रविखण्डनकारी सोच लिएको व्यक्तिलाई लिएर हिँड्नैपन हाम्रा प्रधानमन्त्रीको बाध्यता के हो ? नेपाली जनता यो जान्न उत्सुक मात्र होइन बाध्य नै भएका छन् ।

    प्रधानमन्त्रीज्यू, शरतसिंह भण्डारी भन्ने व्यक्तिका निम्ति नेपाल आमालाई नै बलि चढाउने हदसम्मको नीचता र कृतघ्नताका साक्षी हुन नेपाली जनतालाई बाध्य नपारियोस् । राष्ट्रविखण्डनको दुर्विचारको विरुवालाई तत्काल उखेल्नुका सट्टा त्यसलाई मलजल गर्ने हो भने भोलि त्यो विषबृक्ष हुर्किएपछि जरो उखेल्न त परै जाओस्, त्यसका हाँगा काट्न पनि ठुलै संघर्ष गर्नुपर्ने हुनसक्छ ।    यस परिप्रेक्ष्यमा एकीकृत नेपाल राष्ट्रवादी मोर्चा रक्षामन्त्री शरतसिंह भण्डारीलाई राजीनामाको अवसर दिनुका सट्टा निजलाई मन्त्री पदबाट तत्काल हटाइयोस् भनी प्रधानमन्त्री समक्ष जोडदार माग गर्दछ ।

मिति ः २०६८।६।२९                                ...........................
                                          (फणीन्द्र नेपाल)
                                              अध्यक्ष